१५ बैशाख २०८१, शनिबार

सर्वोच्चको फैसलाले देश र जनताको हितमा काम गर्न थप जिम्मेवार बनाएको छ : सभापति देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको स्वागत गरेका हुन् । सर्वोच्च अदालतको फैसलापछि आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले देश र जनताको हितमा काम गर्न थप जिम्मेवार बनाएको बताएका छन् ।

देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

कांग्रेसका सभापति देउवाले सर्वोच्चको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेका छन् । उनले कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिएका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक आफ्नो पक्षमा फैसला सुनाएपछि फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको देउवाले बताएका छन् ।

उनले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुन व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरू, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गरेका छन् ।

देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु ।’

सर्वोच्चको फैसलाले देश र जनताको हितमा काम गर्न थप जिम्मेवार बनाएको छ : सभापति देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !