५ जेष्ठ २०८१, शनिबार

माधव नेपाललाई प्रचण्डले भने, ‘मलाई एक्लो बनाएर ओलीसँग नमिल्नुस्’


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई गुहार मागेका छन् । स्रोतका अनुसार प्रचण्डले ओलीसँग नमिल्न नेपाललाई आग्रह गरेका छन् ।

जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ । एमालेको विवाद मिलेर आजै अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको संयुक्त विज्ञप्ति आउने चर्चा भएपछि प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

उक्त भेटघाटमा आफूलाई एक्लो बनाएर ओलीसँग नमिल्न आग्रह गर्दै बरू बृहत कम्युनिष्ट एकताको लागि मोर्चा बनाएर अघि बढौँ भन्ने प्रस्ताव राखेको बुझिएको छ । एमालेको विवाद मिल्न खोजेको समयमा यसअघि पनि प्रचण्ड छटपटिएका हुन् ।

सत्तारुढ दल नेकपा एमालेका दुई समुहहरुको प्रतिनिधित्व गरेका केपी शर्मा ओली समूह र माधव नेपाल समूह मिल्ने शुभ संकेत देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तनाव सिर्जना भएको छ ।

नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको बेला जनकपुरबाट काठमाडौं फर्किएपछि सीधै प्रचण्ड नेपाललाई भेट्न एकाएक कोटेश्वर पुगेलाई एमालेको ओली समूहले अर्थपूर्ण रुपमा लिएको हो ।

यसअघि पार्टीमा समानान्तर कमिटीको अभ्यासको अनुभव लिएर जसरी भएपनि ओलीसँग सम्वन्धविच्छेद गरेर नयाँ कम्युनिष्ट पार्टीको सपना देखेका नेपाललाई एमालेको एकता जोगाउन गठित कार्यदलका सदस्यले भेटेर बल्ल-बल्ल मनाएर सहमति नजिक पुगेको बेला नेपाललाई फेरि भड्काउन प्रचण्ड उनको निवास कोटेश्वर त पुगेका होइनन् भन्ने आशंका ओली समूहका नेता-कार्यकर्तामा छाएको छ ।

यसअघि प्रचण्ड र नेपाल मिलेर संयुक्त नयाँ कम्युनिष्ट पार्टीको परिकल्पना समेत गरेका थिए । माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा पार्टीको चुनाव चिन्ह कलम रहेको नेकपा एकीकृत दर्ता भई सकेको छ ।

नेपालसँग नमिल्ने हो भने आगामी निर्वाचनमा प्रचण्डको पार्टीको अवस्था कम्जोर हुने निश्चित देखिन्छ । नेपालसहितको नयाँ पार्टी बनाएर अघि बढ्नु प्रचण्डको बाध्यता जस्तै रहेको छ । माओवादी केन्द्रका २ दर्जन भन्दा बढी नेताहरु प्रचण्डलाई छोडेर ओलीको एमालेमा प्रवेश गरिसकेका छन् ।

नेकपा एमालेको आन्तरिक विवाद मिलाएर एकता जोगाउन गठित १० सदस्यीय कार्यदलको बैठक घनिभूत रुपमा भएर विवाद समाधान गर्न दुवै समूह सहमत भएपछि एमालेमा आशाको दियो बल्न शुरु भएको बेला एकता अभियान कतै फेरि तुहिने त होइन भन्ने आशंका पैदा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !