काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।
स्रोतका अनुसार मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे । ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ’ उनले भने ।
यसअघि पनि प्रचण्डले अदालतको आदेश भन्दा अगाडी नै नवनियुक्त मन्त्रीको पद जाने बताएका थिए। त्यसको भोली पल्ट नै नवनियुक्त मन्त्रीहरु पदमुक्त भएका थिए।
विभिन्न पार्टीका नेताहरुले प्रचण्डलाई अदालतसंग केहि सेटिङ् मिलाएर अदालतको सूचना चुहाउने गरेको र पहिला नै सूचना थाहा पाउने गरेको आरोप लगाएका थिए। तर प्रचण्डले भने कानुन विपरित काम गरेकाले आफूलाई अदालतले कानुन विपरित काम गर्न नसक्ने भन्दै आफुले बोलेको बताएका थिए।
पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ । स्रोतका अनुसार प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने बताए । ‘संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ’ प्रचण्डले संचारकर्मीसँग भने, ‘त्यस्तो कल्पनासम्म गर्न सक्दिनँ ।’
प्रचण्डले केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाए । अदालतलाई दवाव दिएर ओली थप निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।