७ मंसिर २०८१, शुक्रबार

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पनि अन्तर्क्रिया गर्दै


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पनि अन्तर्क्रिया गर्दैछन् । आज सोमबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा उनीहरुले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्न लागेका हुन् ।

आज हुने अन्तर्क्रियामा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका असन्तुष्ट नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताको सहभागिता रहने बुझिएको छ ।

आज लेखक, नागरिक समाज र बुद्धिजीवीसँग अन्तर्क्रिया पूर्वनिर्धारित कार्यक्रम भने बुधबारलाई सारिएको छ । यसअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विभिन्न संचार माध्यमका सम्पादक एवं राजनीतिक मामिला सम्बन्धी पत्रकारहरुसँग पनि अन्तरक्रिया गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनका शीर्ष नेताहरुले अन्तर्क्रियाका कार्यक्रममा जोड दिएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस सकिएर आजवाट सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलको बहस शुरु हुँदैछ ।

मन्त्रिपरिषद्को जेठ ७ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ । विघटनबिरुद्ध परेका ३० वटा रिटमा रिट निवेदकले तत्काल संसद पुनःस्थापना गर्न माग गरेका छन् । ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !