१६ असार २०८१, आइतबार

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश


न्यून आय भएका र दैनिक ज्यालादारी गर्नेलाई राहत देऊ सरकार

काठमाडौं । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज कोरोना खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई चाँडो दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा सुनुवाई गर्दै गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेल दुई ज्येष्ठ नागरिकले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए । उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएपछि सर्वोच्चलाई गुहारेका थिए ।

नेपालको संविधानमा ब्यवस्थित स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गरी पाउनका लागि सार्वजनिक सरोकारको विषय लिई अदालत आएको रिटमा उल्लेख छ ।

सरकारले फागुन २३ देखि पहिलो डोज कोभिसिल्ड खोप लगाएका (६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख) लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा उपलव्ध हुन नसकेको रिटमा उल्लेख छ । पहिलो डोज खोप लगाइ दोस्रोको पर्खाइमा रहेका दीर्घरोगी, वृद्ध, अशक्तहरु मर्कामा परेकोले तत्काल खोपको व्यवस्था गराउन माग गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !