१२ बैशाख २०८१, बुधबार

कांग्रेसमा नयाँ तरंग : देउवाको विकल्प खोज्न विमलेन्द्र, शशांक र प्रकाशमानको ‘लञ्च मिटिङ’


विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न दोस्रो तहका नेताहरु कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच लञ्च मिटिङ भएको छ ।

१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दाबी गरेका दोस्रो तहका तीन नेताबीच छलफल भएको हो । निधिले आफ्नो वैवाहिक वार्षिकोत्सवको सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए ।

निधि निवास मध्य बानेश्वरमा भएको छलफलमा पार्टीको आगामी महाधिवेशनमा उम्मेदवारीको सन्दर्भमा छलफल भएको निधिनिकट स्रोतले बताएको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

पारिवारिक राजनीतिक पृष्ठभूमि भएका कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र डा. शशांक कोइराला, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधि तीनै जना सभापतिका आकांक्षी हुन् । कांग्रेसका कार्यकर्ताले निधि, कोइराला र सिंहलाई प्रेमपूर्वक ‘राजकुमार’ भन्ने गरेका छन् ।

तीनै जनाका बाबुहरूले कांग्रेसको स्थापना र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काँग्रेस सभापति देउवालाई चुनौती दिने यी तीन ‘राजकुमार’ एकै ठाउँमा बसेर कुराकानी गरेपछि कांग्रेसमा अहिले नयाँ तरंग आएको छ ।

सभापति शेरबहादुर देउवालाई गत शनिबार भेटेर सभापतिमा उठ्ने जानकारी गराएर फर्केका निधिले आज छलफलका लागि महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई बानेश्वरस्थित निवास निम्त्याएका थिए ।

संस्थापन पक्षबाट सभापतिमा फेरि देउवाले दोहोर्‍याउने तयारी गरेपछि उनलाई लामो समयदेखि साथ दिँदै आएका निधि असन्तुष्ट छन् । देउवाले अब आफूलाई सभापति नछोड्ने हो भने आफू अरूसँग सहकार्य गरेर अघि बढ्ने निधिले बताइसकेका छन् ।

काँग्रेसका तीन शीर्ष नेताहरु भेटमा पाँचवटा विषयमा छलफल भएको छ । देशभर कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई खबरदारी गर्ने, सिन्धुपाल्चोक लगायत देशभरको आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत, पुनःस्थापना र गासबासका लागि सरकार समक्ष पहल गर्ने, पार्टीको १४ औं महाधिवेशन र त्यसमा आफ्ना उम्मेदवारीको विषयमा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ ।

यस्तै, छलफलमा आगामी निर्वाचनमा कांग्रेसको जित, गठबन्धनको तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन जोडतोडले लाग्ने विषयमा गठबन्धनका सबैबीच साझा धारणा बनाएर अघि बढ्ने विषय समेत समेटिएको हो । साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफल भएको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !