काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिने बुझिएको छ ।
यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकले भदौ ७ गतेदेखि १० गतेसम्म निर्धारित महाधिवेशनको मिति १० दिन पर सारेर भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी निर्णय गर्न केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।
क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल जारी रहेको छ । यस्तै आज बसिरहेको बैठकमा मुलुकको समसामयिक राजनीति, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट र प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाको दाबी लगायत विषयमा बृहत छलफल भईरहेको छ ।