१८ बैशाख २०८१, मंगलबार

उपचार गर्न दिल्ली जानुअघि झलनाथले गरे पार्टी एकताकाे आह्वान

पार्टी एकता सफलताको बाटो हो भने फुट बिनासको बाटो हो : झलनाथ खनाल


पूर्वप्रधानमन्त्री

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले थप उपचारको लागि भारतको राजधानी नयाँ दिल्ली जानुअघि एक प्रेस वक्तव्य जारी गर्दै पार्टी एकताका लागि आह्वान गरेका छन् ।

उनले नेकपा एमाले सयौँ शहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दुसम्म आइपुगेको बताएका छन् । उनले सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस् भन्दै राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेका छन् ।

यस्तै उनले जनताको चाहना र अपेक्षा विपरित नेताहरुमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको प्रष्ट पारेका छन् । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताउदै उनले विगतमा सबै नेताहरु मिलेर ठुला-ठुला सफलताहरु प्राप्त गरेको स्मरण गरेका छन् ।

एकता सफलताको बाटो हो भने फुट बिनासको भन्दै उनले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरुलाई उनले विशेष आह्वान गरेका छन् ।

पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र सफल हुने भन्दै सिङ्गो राष्ट्रको नेतृत्व गर्न सकिने भएकोले टुट-फुट र विभाजन नभएर एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गरेका छन् ।

आजै थप उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए ।

‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

झलनाथ खनाल प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !