८ जेष्ठ २०८१, मंगलबार

नेपाल-भारत सीमामा तारबार लगाउन एमाले सांसद तामाङको माग


ताला लामा तामाङ

धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एमालेका प्रदेशसभा सदस्य ताला लामा तामाङले नेपाल-भारतको सीमा क्षेत्रमा तारबार लगाउन माग गरेका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै तारबार बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै तारबार लगाउनुपर्ने माग गरेका हुन् । तारबार गर्दैमा भारतसँग नराम्रो व्यवहार नहुने उनको भनाइ छ ।

अहिले पनि हुलाकी राजमार्गको निर्माणमा भारतीय पक्षले अवरोध गरिरहेको छ । कञ्चनपुरबाट निर्वाचित सासंद तामाङले नेपाल–भारत हुने आवत-जावत व्यवस्थित बनाउन पनि सीमामा तारबार आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि हुलाकी सडकमा काम गर्दा भारतीय सुरक्षाकर्मी आएर डराउने र धम्काउने काम गर्दै आएका छन् । कञ्चनपुरदेखि दार्चुलासम्म कतै पनि सीमा व्यवस्थित नभएको हुँदा ठूलो बजेट लगानी गरेर संरचना निर्माण गर्न नसके पनि तारबार त गर्नैपर्छ । तपाईं हामी सधैसँगै बस्‍ने दाई-भाई छुट्दा त घरमा पर्खाल लगाउँछौ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम उठाउनैपर्छ ।’

उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने उनको माग रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !