६ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद्ले पायो पूर्णता : यस्तो बन्यो ओली नेतृत्वको सरकार


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट १ जना मन्त्री बनाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज थपिएका नयाँ मन्त्रीहरुमा पूर्व माओवादी समूहवाट एमालेमा प्रवेश गरेका २ जना मन्त्री बनेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् । राष्ट्रपति कार्यालय शितल निवासले नयाँ मन्त्रीहरुको आज अपरान्ह ४ बजे सपथग्रहण गराउने तयारी गरेको छ ।

आज थपिएका मन्त्रीहरुमा खगराज अधिकारीलाई गृह, राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास, नारदमुनि रानालाई वन तथा वातावरण, गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै उनले आशाकुमारी वि.क.लाई वन तथा वातावरण राज्यमन्त्री बनाएका छन् । विस्तारित मन्त्रिपरिषद्‍मा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्‍नी नैनकला सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेकी हुन् । जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादवले मन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराई प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

यस्तो बन्यो ओली नेतृत्वको सरकारको नयाँ मन्त्रिमण्डल

१. केपी शर्मा ओली – प्रधानमन्त्री एवं रक्षामन्त्री
२. विष्णुप्रसाद पौडेल – उपप्रधानमन्त्री एवं अर्थमन्त्री
३. रघुबीर महासेठ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री
४. राजेन्द्र महतो – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री
५. खगराज अधिकारी – गृहमन्त्री
६. शरतसिंह भण्डारी – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री
७. कृष्णगोपाल श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
८. अनिलकुमार झा – खानेपानीमन्त्री
९. शेरबहादुर तामाङ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री
१०. राजकिशोर यादव – उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री
११. लक्ष्मणलाल कर्ण – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
१२. बसन्तकुमार नेम्वाङ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री
१३. लिलानाथ श्रेष्ठ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री
१४. नैनकला थापा – सञ्चार तथा सूचना प्रविधिमन्त्री
१५. ज्वालाकुमारी साह मन्त्री – कृषि तथा पशुपन्छी विकासमन्त्री
१६. बिमलप्रसाद श्रीवास्तव – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
१७. उमाशंकर अरगरिया – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
१८. चन्दा चौधरी मन्त्री – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
१९. एकवाल मियाँ – युवा तथा खेलकुदमन्त्री
२०. नारद मुनि राना- वन तथा वातावरणमन्त्री
२१. गणेशकुमार पहाडी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
२२. मोहन बानिया – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमन्त्री
२३. चन्द्रकान्त चौधर – ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री
२४. रेणुका गुरूङ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री
२५. आशाकुमारी वि.क. – वन तथा वातावरण राज्यमन्त्री
मन्त्रिपरिषद्ले पायो पूर्णता : यस्तो बन्यो ओली नेतृत्वको सरकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !