१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तारको तयारी, आजै सपथ हुनसक्ने


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ वटा मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

रक्षा, गृह, सामान्य प्रशासन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्‍चार तथा सूचना प्रविधि, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित ८ मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा लागेका छन् । नयाँ थप्न लगिएका मन्त्रीहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ ।

आज थपिने सबै मन्त्रीहरु नेकपा एमालेकै हुने बालुवाटार स्रोतको भनाई रहेको छ । पूर्व माओवादी समूहवाट एमालेमा प्रवेश गरेका कम्तीमा २ जना मन्त्री बन्ने सम्भावना रहेको छ । राष्ट्रपति कार्यालय शितल निवासले नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने कार्यक्रमको तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !