१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने


गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेशसभा बैठक आज मध्याह्न १२ बजे बस्दै छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् ।

६० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ । यस्तै काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसदमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वाेच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने भएकोले मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले हिजो बुधबार विपक्षी गठबन्धनलाई साथ दिने बताएसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन जटिल देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु