६ जेष्ठ २०८१, आइतबार

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने, यी हुन् सम्भावित मन्त्रीहरु


राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित जस्तै भएको छ । आज जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

ठाकुर पक्ष सरकारमा सहभागी हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ । जसपा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो ।

जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा विस्तार र हेरफेर गर्ने भएका छन् । अहिले प्रधानमन्त्री ओलीले नयाँ बन्न लागेको मन्त्रिपरिषद्को बारेमा पार्टीका मुख्य नेताहरुसँग कसरी समायोजन गर्ने भन्ने बारेमा समेत छलफल गर्दैछन् ।

जसपावाट ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित १० जना ओली नेतृत्वको सरकारमा सहभागी हुनेछन् । आज शुक्रबार भएकोले आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने प्रवल सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ किनकी प्रधानमन्त्री ओली प्राय:जसो शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्ने गरेका छन् ।

जसपाका नेताहरूले शुक्रबार साँझसम्ममा शपथ लिने बताइएको छ । मन्त्रालयको संख्या र नाम टुंगिएर लगभग फाइनल जस्तै भएको छ । जसपा स्रोतका अनुसार राजेन्द्र महतो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुने बुझिएको छ । तर महतोले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय मागेको पनि बुझिएको छ ।

यस्तै शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनेछन् । अनिलकुमार झाले शहरी विकास मन्त्रालय, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने गरी टुंगो लागेको छ । त्यस्तै दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।

तर मन्त्रालयम भने हेरफेर हुन सक्ने जसपाका नेताहरुको भनाइ छ । गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि लागी परेका छन् ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय जसपाको ठाकुर पक्षले लिएको बताइएको छ । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चित प्रायः छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !