८ जेष्ठ २०८१, मंगलबार

ओलीको आक्रोश : के अब कालो कोटधारी अराजकहरूले नै न्यायाधीशको फैसला लेख्‍ने हो ?


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरूले न्यायाधीशहरूको मर्यादा कुल्चने काम गरेको भनेर आक्रोश प्रकट गरेका छन् ।

आज सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्‍नप्रति आक्रोश व्यक्त गरेका हुन् ।

प्रधानमन्‍त्री ओलीले संसद् विघटनविरुद्ध रिट दिने र बहस गर्ने वकिलहरूको गतिविधिप्रति आक्रोश व्यक्त गर्दै कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले न्यायाधीश छान्‍न खोजेको र आफै फैसाला लेख्‍न चाहेको भन्दै उनीहरूको कडा आलोचना समेत गरेका छन्।

ओलीले रिट निवेदक र अधिवक्ताहरूले अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा कुल्चने काम गरेको टिप्पणी गरेका हुन् ।अधिवक्ताहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गछौं भन्‍ने प्रश्‍न सिर्जना भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका शम्भु थापा लगायतका वकिलहरुले प्रश्न उठाएर विवाद गरेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

ओलीले भने, ‘यो कस्तो सिस्टम खोजेको हो ? के अब वकिलले न्यायाधीश तय गर्ने ? के वकिलले लेखेर ल्याएको फैसला नै न्यायाधीशले पढ्नुपर्छ भन्‍न खोजेको उहाँहरूले ?’ ओलीले न्यायलय र न्यायाधीश मान मर्यादा र गरिमाको अलिकति पनि ख्याल नगरीकन केही वकिलहरू मर्यादाहीन गतिविधिमा संलग्‍न भएको बताए ।

उनले यस्तो प्रवृत्तिले स्वतन्‍त्र न्यायलयलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै प्रश्‍न गरे, कालोकोटधारी व्यक्तिहरूले अदालतलाई कुन हैसियत र अवस्थामा पुर्याउँछ भन्‍ने प्रश्‍न गरे । प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश खोजेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !