काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । ओली र नेपाल कार्यदल गठनको लागि आज दिउसो भेटवार्ता हुने एक नेताले जानकारी दिए ।
स्रोतका अनुसार नेता नेपालले भेटको लागि ओलीलाई आफ्नै निवास कोटेश्वरमा बोलाएका छन् । तर, भेटवार्ताको स्थान भने तय भई सकेको छैन् । आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ । नेपालले आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताहरुको नाम भने ओलीलाई बुझाईसकेका छन् ।
अस्ति बैशाख ३१ गते शुक्रबार एमालेका अध्यक्ष ओली र नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पौने ३ घण्टा वार्ता भएको थियो । एमालेका दुई समूहको सो वार्तामा अध्यक्ष ओली पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएसंगै वार्ता सकारात्मक ढंगले टुंगिएको थियो ।
उनका अनुसार पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको थियो । सहमतिमा पुग्न लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बसेर कार्यदल टुंग्याउने भएकोले आज निर्णायक वार्ता हुन लागेको हो ।
यो पनि पढ्नुहोस्
एमालेका नेताहरु सहमतिउन्मुख : विवाद समाधान गर्न कार्यदल गठन गरिने