८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले सपथ लिँदालिँदै राष्ट्रपतिलाई सिकाए – त्यो पर्दैन !


प्रधानमन्त्री केपी शर्मा ओलीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । आज शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । भण्डारीले बिहीबार राती नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नवनिर्वाचित प्रधानमन्त्री ओलीले देश र जनताका नाममा सपथ लिएका छन् । तर आज शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

‘म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु कि’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

राष्ट्रपतिले पुनः वाक्य दोहोर्‍याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढेका थिए । प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का मुस्कुराइन् । सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो प्रतीत हुन्थ्यो ।

प्राय:जसो कम्युनिष्ट प्रधानमन्त्री र मन्त्रीहरु ईश्वरको नाममा सपथ लिन अस्वीकार गर्छन् । राष्ट्रपतिले सपथ गराउदा ‘म ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु’ भन्ने शब्द उच्चारण गर्न लगाउदा उनीहरुले ‘देश र जनताको नाममा सपथ लिन्छु’ मात्र सपथ लिन्छन् ।

तर आज त्यो भन्दा फरक खालको दृश्य शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा देखियो । नवनियुक्त प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु कि’ भन्ने बाँक्याश नै पर्दैन भनेर अस्वीकार गरिदिए ।

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि’ भन्नुपर्नेमा उनले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक’ त भने तर ‘प्रतिज्ञा गर्छु कि’ नभनेकोले ओली फेरि विवादमा आएका छन् । यसले गर्दा उनी देश र जनताप्रति कति प्रतिबद्ध छन् भने प्रश्नचिन्ह उनीसामू खडा भएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधि लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !