२० जेष्ठ २०८१, आइतबार

केपी ओली नै फेरि प्रधानमन्त्री बन्ने पक्का : महन्थ पुगे लड्डु खान बालुवाटार


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौं । बिपक्षी दलहरु नेपाली कांग्रेस-माओवादी केन्द्रले बैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अन्तत: एमाले अध्यक्ष केपी शर्मा ओली नै पुन: प्रधानमन्त्री नियुक्त हुने पक्का भएको छ । ठूलो रस्साकस्सीपछि ओलीलाई साथ दिएर ओलीको पद जोगाइदिएपछि जसपाका अध्यक्ष महन्थ ठाकुर खुशियाली मनाउन बालुवाटार छिरेका छन् ।

जसपा अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् ।

जसपाको महन्थ ठाकुर पक्षले नयाँ सत्ता समीकरणमा सामेल नहुने र एमालेको नेपाल समूहका सांसदहरुले राजीनामा नदिएपछि देउवालाई बहुमतीय प्रधानमन्त्री बन्ने संख्या नपुगेको हो । एमालेका अध्यक्ष ओली र बरिष्ठ नेता नेपालको कुरा मिलेर सहमति नजिक पुगेसंगै नेपाल समूहका सांसदहरुले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन् । बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !