६ जेष्ठ २०८१, आइतबार

देशको वर्तमान राजनीतिक संकट हल गर्न बाबुरामले राखे चार प्रस्ताव


डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले देशको वर्तमान राजनीतिक संकट समाधान गर्न चार वटा प्रस्ताव प्रस्तुत गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बुधबार बिहान लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

डा. बाबुराम भट्टराईले यो ट्वीटले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गर्दै नयाँ प्रधानमन्त्रीको प्रस्तावको संकेत गरेका छन् । कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको बेला भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री वाहेककाको राष्ट्रिय सरकार बनाउन भन्नुको अर्थ देउवालाई अस्वीकार गर्नुले जसपा र काँग्रेसमा अर्थपूर्ण रुपमा लिइएको छ ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजन भई महन्थ ठाकुरा र राजेन्द्र महतो ओली सरकारकै निरन्तरता चाहेर नयाँ सरकार गठनको विपक्षमा छन् भने यादव र डा. भट्टराई नयाँ सरकार गठनको पक्षमा देखिएका छन् ।

तर भट्टराईको यो पछिल्लो प्रतिक्रियाले काँग्रेस र जसपामा तरंग सिर्जना हुनेको साथै यसको सिधा असर नयाँ सरकार गठनमा पर्ने देखिएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालको आन्तरिक विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएपछि डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा भाजपा नेता सुब्रमन्यमले भने सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतको रोजाइमा केपी शर्मा ओली भएको ट्वीट गरेका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएमा चीनले जित्ने दाबी समेत गरेका थिए ।

डा. भट्टराईको यो ट्वीटको बहुआयमिक अर्थ लगाउन सकिन्छ । उनले एकातिर देउवा नेतृत्वमा सरकार गठन गर्न अस्वीकार गरेका छन् भने अर्कोतिर आफ्नै पार्टी जसपाको ठाकुर-महतो पक्षलाई खुसी बनाएर पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध पार्दै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।

उनले धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने उल्लेख गरेका छन् । दलका प्रमुख/पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाउनुपर्ने पनि ट्‍वीटमा उल्लेख गरेका छन् ।

साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, TRC/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागूबारे पनि उल्लेख गरेका छन् । उनले एक वर्षभित्र चुनाव गर्नुपर्ने पनि ट्‍वीटमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं :१.धारा७६(२) वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन, आर्थिक राहत इ.) लागू ४.एक बर्षभित्र चुनाव!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !