७ बैशाख २०८१, शुक्रबार

नयाँ प्रधानमन्त्रीको दौडमा देउवा आउट, डा. भट्टराईको इन्ट्री


डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर हुँदै गएको छ । विशेष स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) लाई सरकारको नेतृत्व दिन माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार भएका छन् भने देउवा भने तयार भईनसकेको बुझिएको छ ।

विशेष स्रोतका अनुसार अहिलेको सत्ता संघर्षले देउवा प्रधानमन्त्रीबाट रोकिने समभावना बढेको छ । प्रधानमन्त्रीको दौडमा ओली र डा. बाबुराम भट्टराई नै अगाडि देखिएका छन् । अबको प्रधानमन्त्रीको मुख्य प्रतिष्पर्धा ओली र बाबुरामबीच देखिएको छ

प्रचण्ड जसरी भएपनि काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तावाट हटाउन चाहन्छन् । आफ्नो पार्टी, प्रचण्ड, उपेन्द्र यादवको जोडबल मात्र देउवा प्रधानमन्त्री बन्न तयार भएका हुन् । प्रचण्डलाई ओलीको घमण्ड चकनाचुर पार्ने नै रहेको छ ।

अहिले यस्तो कोरोनाको संक्रमणकालमा देउवाको भित्री चाहना प्रधानमन्त्री बन्ने नरहेको विश्लेषण गर्न सकिन्छ किनकी उनीको दाऊ भनेको आगामी पार्टीको अधिवेशनवाट पुन: पार्टीको सभापति भएर भावी निर्वाचनवाट प्रधानमन्त्री बन्ने नै रहेको छ । काँग्रेसमा पौडेल पक्ष र कोइराला परिवार समेत देउवालाई भावी असफल प्रधानमन्त्री बनाएर त्यसको राजनीतिक फाइदा उठाउन खोजिरहेको ‘ग्राण्ड डिजाइन’ देउवालाई अवगत छ ।

प्रतिनिधिसभाको कायम रहेका संसदको अंक गणितलाई हेर्दा नयाँ सरकार बनाउन जसपको ठाकुर-महतो पक्ष पनि सामेल हुन जरुरी छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) सँग १२१ सांसद् छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेससँग ६३ (दुई निलम्बित), नेकपा (माओवादी केन्द्र) सँग ५३ (चार निलम्बित), जनता समाजवादी पार्टी नेपालसँग ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका र स्वतन्त्र १/१ जना सांसद छन् ।

यद्यपि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले हिजो सोमबार राती विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठनमा नलाग्ने स्पष्ट परिसकेका छन् । ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका हुन् ।

नयाँ बन्ने वैकल्पिक सरकार गठनको लागि जसपाको महन्त ठाकुर-राजेन्द्र महतो र डा. बाबुराम भट्टराई-उपेन्द्र यादव दुई पक्षको साथ खोजेर प्रधानमन्त्री बन्ने आकांक्षा राखेका देउवाको सपना साकार हुन कठिन देखिएको छ ।

ठाकुरको जारी गरेको विज्ञप्तिले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ३ दिनको समयसिमाभित्र वैकल्पिक सरकार गठनको दावी गर्न कांग्रेसका सभापति देउवाले थालेको पहलमा धक्का लाग्ने देखिन्छ ।

यस्तो अवस्थामा राजनीतिमा आफूलाई चतुर खेलाडी ठान्ने प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्दा ठाकुर-महतो पक्ष समेत यो प्रस्तावमा आफ्नो गठबन्धनमा आउन सक्ने प्रचण्डको ठहर रहेको छ ।

आफ्नै पार्टीको प्रधानमन्त्री भएमा रेशम चौधरी लगायत जसपाका जेलमा रहेका सवैलाई छुटाउन सकिने र अन्य लाभ लिन सकिनेमा ठाकुर-महतो कन्भिन्स गराउन सकिने प्रचण्ड, भट्टराई र यादवको ठम्याई रहेको विश्लेषण गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !