१३ जेष्ठ २०८१, आइतबार

कांग्रेसको निर्णय : ओलीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार बनाउने


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा आज शनिबार दिउँसो बसेको ससदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रष्ट परेको हो ।

आज बसेको बैठकले गत चैत २१ गते कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै संसदीय दलले पार्टी नेतृत्वमा सरकार निर्माण गर्ने पहल गर्ने निर्णय लिएको हो ।

साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

खाँणले पहिलो कदमको रूपमा ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न अन्य दललाई पनि आग्रह गर्ने र ओलीको असफलतापछि तत्काल आफ्नो नेतृत्वमा सरकार गठनमा जाने निर्णय पनि संसदीय दलले गरेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले सोही प्रयोजनको लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !