८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर असफल बनाउने काँग्रेसको निर्णय


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत नदिएर असफल बनाउने निर्णय गरेको छ । आज मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै महतले सो बारेमा अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको बताए । यस्तै उनले संवैधानिक परिषद्सहित ७ वटा अध्यादेश ल्याउने सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले जारी गरेकोमा भर्त्सना गरेको बताए ।

बैठकले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा वर्तमान सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजको जनाउँदै आपत्तिसमेत जनाएको हो । कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी लगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको हो ।

यसैगरी सभापति देउवाले आजै विज्ञप्ति जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भनी आपत्तिजनक जनाएका छन् । “संवैधानिक परिषद् सम्बन्धी लगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भत्र्सना गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले मन्त्रिपरिषद्का सिफारिसमा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सो प्रयोजनका लागि यही वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !