काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएको आरोप लगाएका छन् । १३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुक्तिकामी श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको अपेक्षा गरेका छन् ।
उनले सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने बताएका छन् ।
उनले नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्य तर्फ लामवद्ध हुन आइपुगेका हौं भनेर उल्लेख गरेका छन् ।
उनले श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकोले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको बताएका छन् ।
तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको भन्दै प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै प्रचण्डले उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दै उनले श्रमिक दिवसको अवसरमा यस महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै सुस्वास्थ्य र दीर्घायूको कामना व्यक्त गरेका छन् ।