६ मंसिर २०८१, बिहीबार

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आज प्रदेशसभामा टेबुल हुने


गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा टेबुल गर्ने कार्यसूची छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा अधिवेशन अन्त्य भएपछि कांग्रेस र माओवादीसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका थिए ।

तीन दलको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका छन् । अविश्वासको प्रस्ताव ल्याएका दलहरुको प्रदेशसभामा आवश्यक ३१ संख्या मात्र छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । प्रस्तावकले बोलेपछि सांसदहरूले अविश्वास प्रस्तावमाथि बोल्नेछन् ।

सोमबार र मंगलबार सांसदहरूले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरूले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने भएको छ । विपक्षी दलहरुले आजै अविश्वासको प्रस्तावमाथि मतदान गराउनुपर्ने बताउँदै आएका छन् भने सत्ता पक्षले अझै एक दुई दिन लम्ब्याउन चाहेको छ ।

राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको अविश्वासको प्रस्ताव आज सदनमा टेबल हुँदैछ । तर राजमोका सांसदहरु अझै पनि प्रस्तावको पक्षमा खुली नसकेकाले फ्लोर क्रसको संकेत देखिएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले ६ गते आह्वान गरेअनुसार १३ वैशाख सोमबार विशेष अधिवेशन बस्‍न लागेको हो ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा अझै पनि एमालेसँग मिल्नुपर्ने पक्षमा देखिएका छन् । तर थापासहित जनमोर्चाका तीनै जना सदस्यले पार्टी निर्णय स्विकार गर्ने बताउँदै आएका छन् ।

तर गण्डकी प्रदेशसभाको आज बस्न लागेको बैठक साँघुरो प्रदेशसभाभित्र भौतिक दूरीबिना नै बस्न लागेको हो । यही भवनमा प्रदेश सभाका छैटौं अधिवेशनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै सभागृहमा संसद बैठक राखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !