६ बैशाख २०८१, बिहिबार

कोभिडविरुद्धको लडाइँमा एकजुट भएर लाग्न आम नेता कार्यकर्तालाई ओलीको निर्देशन


एमालेको महाधिवेशन आयोजक समितिको बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै पार्टीका आम नेता कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएका छन् ।

आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन आम नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

बैठक सकिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिएको जानकारी दिए । बैठकमा ओलीले कोरोनाले फेरि महामारीको रुप लिन थालेको भन्दै नागरिकलाई जोगाउन सरकारले आवश्यक काम गरिरहेको बताएका थिए ।

एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गराउनुभयो ।’

बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्ने लगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !