७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त , साँझ ५ बजे शपथग्रहण


राम बहादुर थापा

काठमाडौं । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि स्वतः गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आज साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पदमुक्त भएलगत्तै प्रधानमन्त्री ओलीले थापालाई नेकपा एमालेको नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेकोले तथा राजनीतिक दलसम्बन्धी ऐन अनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको थियो ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री थापा पदमुक्त, सांसद पद पनि खारेज

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !