७ मंसिर २०८१, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने


महेन्द्रबहादुृर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो २ बजे बोलाइएको प्रदेशसभाको सातौँ अधिवेशनको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनको पद धरापमा परेको थियो । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मुख्यमन्त्री शाही अल्पमतमा परेपछि आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पत्र पठाएर विश्वासको मत लिन ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री शाहीलाई दिएको समर्थन यही चैत ४ गते फिर्ता लिइएको एमालेको ओली समूहले बताएको थियो ।

तर पछिल्लो समय एमालेको खनाल-नेपाल समूह पनि सरकार ढाल्न तयार भएकोले उनी अल्पमतमा परेका छन् । प्रदेश प्रमुखको कार्यालयले चैत ५ गते पत्र पठाउँदै मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन भनेको थियो ।

संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभानजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको छ । प्रदेश सभामा कायम रहेका सदस्यको बहुमत पुर्याए मात्रै मुख्यमन्त्री शाही नेतृत्वको सरकार रहन सक्ने अवस्था रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।

कर्णाली प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने २० जना सांसद मध्ये नेकपा एमाले एक्लैसँग बहुमतका लागि २० जना रहेका छन् । माओवादी केन्द्रका १२ जना, नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ जना सांसद रहेका छन् ।

एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । यस्तो अवस्थामा एमाले एक्लैले बहुमत पुर्याउन सक्ने स्थिति रहेको छ । माओवादी, काँग्रेस या राप्रपाका सवै प्रदेशसभा सांसद जोड्दा पनि १९ जना मात्र पुग्छन् । तर मुख्यमन्त्री शाही भने एमालेका १/२ जना सांसदलाई आकर्षक मन्त्रालय दिने सर्तसहित आफ्नो पक्षमा ल्याउन प्रयासरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !