७ बैशाख २०८१, शुक्रबार

सांसदबाट पदमुक्त गरेपछि प्रचण्डसँग प्रभु साह भए यत्तिसम्म आक्रोशित


प्रचण्ड र प्रभु साह

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका ४ जना मन्त्रीको सांसद पद च्वाट भएको छ । माओवादीले ४ जना मन्त्रीलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद खोसिएको संसद् सचिवालयलाई पत्राचार समेत गरेको हो ।

माओवादी केन्द्र उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेपछि कारबाहीमा परेका शहरी विकासमन्त्री प्रभु साह प्रचण्डबिरुद्ध आक्रोशित भएका छन् । उनले आज बिहानै सामाजिक संजाल फेसबुक पेजमा लेख्दै निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

उनले प्रचण्डले आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता, सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिई राख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले नसुहाउने बताएका छन् ।

उनले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि उदांगो भएको टिप्पणी समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएकाछन । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।’

यो पनि पढ्नुहोस्

माओवादी छोडेर एमालेमा लागेका ४ मन्त्रीको सांसद पद च्वाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !