५ जेष्ठ २०८१, शनिबार

एमाले विवाद उत्कर्षमा : खनाल-नेपाल समूहले अलग अभियानको घोषणा गर्ने


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । आज बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४ नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेपछि भावी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकपछि सो समूहले अब के गर्ने भन्नेबारे ठोस रणनीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने भएको हो ।

एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई अस्वीकार गरिसकेको छ । खनाल-नेपाल समूहमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य रहेका छन् ।

स्रोतका अनुसार खनाल-नेपाल समूहले नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन् । एमालेमा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको छ ।

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन । स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् ।

माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर १ महिनापछि अलग पार्टी दर्ताको मनस्थिति बनाएपछि प्रचण्ड,मोहन वैद्य लगायतका समूहसँग एकताको पहल गरिने नेपालको भनाइ छ ।

यसबीच बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा समेत गरे । नेपाल केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने बताएका थिए ।

कतिपयले अझै पनि एकताको प्रयास जारी राखेका छन् । गोकर्ण विष्ट, योगेश भट्टराईहरु पार्टी एकता जोगाउने प्रयासमा छन् । खनाल-नेपाल समूहले हिजो विहीवार मात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता बताएको छ ।

यो पनि पढ्नुहोस्

खनाल-नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै, के गर्ला निर्णय ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !