११ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता


राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको २ दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा.एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र लगायतले बिदाइ गरेका थिए ।

नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा ४ विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति भण्डारी र उहाँका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदान-प्रदान र रोहनपुर-सिंहबाद रेलमार्ग सम्बन्धी सझदारीपत्रमा हिजो हस्ताक्षर भएको थियो ।

समझदारी पत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !