७ बैशाख २०८१, शुक्रबार

ओली-ठाकुरवीच बढेको माया-पिरती र देउवाको अभिव्यक्तिले बाबुरामलाई छट्पटी

बाबुराम भन्छन्, 'ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ'


डा. बाबुराम भट्टराई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरवीच भावी सत्ता समीकरणको लागि सहमति नजिक पुग्नै लाग्दा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) कै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रतिकात्मक रुपमा रक्तचाप उच्च भएको आंकलन गर्न सकिन्छ ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई हटाउन ढिलाई गर्न नहुने बताएका छन् । उनले अत्तालिएर विपक्षी दलहरुले प्रधानमन्त्री ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढिरहेको पनि टिप्पणी गरेका छन् ।

जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ ।

पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ । सत्ता समीकरणको विषयलाई लिएर जसपामा नै यी दुई धारवीच केहि समय अघिदेखि नै शीतयुद्ध चल्दै आएको छ ।

केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालालाई श्रद्धाञ्जली व्यक्त गर्न आजै मंगलबार कोइरालाको निवास बिराटनगर पुगेर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पत्रकारसँगको कुरा गर्दै कांग्रेस विपक्षी दल भएकाले तत्काल सरकारमा नजाने बताएका थिए । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टीले अगुवाई नगर्ने र कांग्रेस प्रतिपक्षमा नै बस्ने साथै ओली र ठाकुरवीच सत्ता समीकरणको लागि सहमति नजिक पुगेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

उनले लेखेका छन्, ‘पहले आप,पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ ! सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो ! यो वा उ बहानामा भाग्ने गल्ती नगरौं !‘


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !