७ मंसिर २०८१, शुक्रबार

महान्यायाधिवक्ता अग्नि खरेलले किन अचानक दिए पदवाट राजीनामा ?

अन्तत: महान्यायाधिवक्ता अग्नि खरेलले दिए पदवाट राजीनामा


अग्निप्रसाद खरेल फाइल फोटो

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको बुझिएको छ ।

उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ । महान्यायाधिवक्ता खरेल नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने मोडमा भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि निकै असहज महसुस गर्दै आएका खरेलले केही समयअघि राजीनामा दिन खोजेतापनि केहि कारणले रोकिएको थियो ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन् । एमाले स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सल्लाह गरेर महान्यायाधिवक्ताको जिम्मेवारीबाट पार्टीको जिम्मेवारीमा फर्किने निर्णय गरेका हुन् ।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । खरेल नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महान्यायाधिवक्ता नियुक्त भएपछि उनले राजीनामा दिएका थिए ।

राजीनामा पछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागी हुने बुझिएको छ । झापाबाट खरेलले आगामी निर्वाचनका लागि समेत तयारी गर्ने स्रोतले जनायो ।

खरेलले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीका लागि राजीनामा दिन लागेको बताइएको छ । वरिष्ठ अधिवक्ता समेत रहेका खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए ।

यो पनि पढ्नुहोस्

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !