काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली प्रवृत्तिविरुद्ध आफू जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बताएका छन् । आज बिहीबार पेरिसडाँडामा माओवादी निकट स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले ओली प्रवृत्तिविरुद्ध लड्ने र नछोड्ने बताएका हुन् ।
प्रचण्डले २/४ वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन् । नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका उनले अब काठमाडौं भन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए । प्रचण्डले भने, ‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर २/४ वर्ष जनताका बीचमा जाने सोच बनाएको छु ।’
उनले केपी प्रवृत्तिविरुद्ध लेखिएको १९ पेज लामो डकुमेन्टमा आफूले केपी प्रवृत्तिविरुद्ध जेल जान र मर्न तयार रहेको बताएको स्मरण गरे । उनले राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन् । उनले कोर्स करेक्सन गरेर प्रतिक्रियावादीहरूसँग लड्ने पनि बताए।
उनले भने, ‘केपी ओली प्रवृतिको अन्त्य हुनैपर्छ । त्यसका लागि म जेल जान पनि तयार छु ।’ गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त पारिएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले ब्याटल जित्यौँ, वार जितेका छैनौँ ।’
अध्यक्ष प्रचण्डले आफूलाई पूर्वलडाकु लगायतका कार्यकर्ताले आवश्यक परे जनयुद्ध लड्न फेरि तयार रहेको बताउने गरेको बताउँदै भने, ‘तर, प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शान्तिपूर्ण तवरबाट अघि बढ्दै देशव्यापी रुपमा कार्यकर्ताहरुको भेला गर्ने छौँ ।’
केपी प्रवृत्तिका विरूद्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो। त्यो ओली प्रवृत्तिमाथि प्रहार गरेको हो। हिंसामा जाने कुरा गरेको होइन, शान्तिमार्फत् युद्ध गरेको हो,’ प्रचण्डले भने।
‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ,’ उनले भने ।