काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा संसदमा बुधबारबाट ९२ जना सांसद पुग्ने दाबी गर्दै अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने उनको दाबी गरेका छन् ।
आज मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो दावी गरेका हुन् । यस्तै केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद संख्या पुग्ने पनि उनले दाबी गरे ।
पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग नपुग्दा फेरि राजनीतिक अस्थिरता सुरु हुने र विकृति सुरु हुने बताए ।
‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन्’ नेता बस्नेतले भनेका छन् ।
बस्नेतले प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बताए । उनल भनेका छन्,‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’
प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको समेत उनको जिकिर थियो । अब ओलीका समकालीन नेतामा अन्तिम राज ओलीले नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्ने सुनाए । उनले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।