७ बैशाख २०८१, शुक्रबार

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि किन पक्राउ परे न‍ेता धर्मेन्द्र ?

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे न‍ेता धर्मेन्द्र


धर्मेन्द्र बास्तोला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिबन्धित रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएतापनि बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै बलपूर्वक पुन: पक्राउ गरेको छ ।

सरकार र विप्लव समूहवीच वार्ताको चर्चा चलिरहेको बेला नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको हो । उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतले जानकारी दिएको छ । उनलाई आजै काभ्रे पठाउने तयारी भएको बुझिएको छ ।

तर अदालतको आदेश पाएर रिहा भए लगत्तै प्रहरीको टोलीले लछारपछार गर्दै नियन्त्रणमा लिएर लगेको छ । अदालत बाहिरबाट उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको हो । प्रहरी स्रोतका अनुसार काभ्रेमा बास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।

आज सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि समेत जनाएको छ । फेरि पनि सोही विषयमा पक्राउ गरिए प्रहरीलाई नै कारबाही गरिने अदालतको आदेशमा भनिएको छ ।

विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले पक्राउ गरेको थियो । बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको थिएन ।

बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

यो पनि पढ्नुहोस्

विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

विप्लव समूहप्रति सरकार कठोर बन्दै : नेता धर्मेन्द्र बाँस्तोला पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !