८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले गरे भरतपुर सिटी हलको शिलान्यास


प्रधानमन्त्री ओलीले गरे भरतपुर सिटी हलको शिलान्यास

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार भरतपुर-१० स्थित बन्न लागेको सिटीहलको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गरेका थिए । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ । कार्यक्रममा श्रीराम जानकी बालिका आश्रमका बालिकाले स्वस्तिवाचन गरेका थिए ।

सिटीहल निर्माणका लागि सङ्घीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । जिल्ला समवन्य समिति पछाडि रहेको चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।

जिल्ला समन्वयन समितिको भवन पछाडि समन्वय समितिकै नाममा रहको सरकारी ४ विघा ४ कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजना अन्तर्गत सिटी हल निर्माण लागिएको छ । २ हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ ।

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम १ अर्ब छ करोडको रहेकामा ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा २ हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ ।

विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भर्याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।

उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हालसम्म यति सुविधासम्पन्न र सुन्दर सिटीहल नेपालमा बनेको छैन ।” दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मङ्सिर १८ गते सम्झौता भएको हो । सम्झौता भएलगत्तै कामलाई तीव्रता दिइएको छ ।

हाल जमीनमुनिको काम भइरहेको छ । सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिनेछ । देशको मध्यभागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भ्रातृ संस्था, विभिन्न सङ्घसंस्थालगायत कार्यक्रम गर्न यहाँ सहज हुनेछ ।

सरकारले देशका ठूला सहरहरुमा सिटीहल निर्माण गर्ने योजना बनाए अनुसार भरतपुरमा पनि निर्माण कार्य अगाडि बढाइएको हो । शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा हुने बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक-गोन्द्राङ ६ लेन सडक स्तरोन्नतिको शुभारम्भ

प्रधानमन्त्रीले आज शिलान्यास गर्ने कार्यक्रम भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !