८ जेष्ठ २०८१, मंगलबार

शंकर पोखरेल संसदीय दलको नेता चयन भएसंगै मुख्यमन्त्रीको बाटो पनि खुल्ला


shankar pokhrel

७ माघ, बुटवल । एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ । एमाले स्थायी समिति सदस्य पोखरेललाई संसदीय दलको नेता चयन भएपछि पाँच नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

पूर्वसञ्चारमन्त्री रहेका नेता पोखरेल एमालेमा प्रभावशाली नेतामा गनिन्छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले अनौपचारिक ढंगले प्रस्ताव गरेपछि उनी प्रदेश सांसदमा उम्मेदवार हुन तयार भएका हुन् । यस अघि नै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । दुई नेताबीच भएको सहमति अघि बढाउन एमाले पाँच नम्बर प्रदेश संसदीय दलले सर्वसम्मत दलको नेता चयन गरेर बाटो खोलेको हो ।

पाँच नम्बर प्रदेशमा कुल ८७ सांसद मध्ये एमालेका ४१ सांसद छन् । संसदीय दलको नेता चुनिएपछि बोल्दै नेता पोखरेलले सबै मिलेर पाँच नम्बर प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउने बताए । ‘ पाँच वर्षमा कोही युवा रोजगारीका लागि विदेश जानु नपर्ने अवस्थामा ल्याउन मिहिनेत गर्नेछौ—उनले भने —त्यसका लागि रणनीतिक योजनाका साथ काम गर्नेछौं ।’ उनले पाँच नम्बर प्रदेशको भौगोलिक, सांस्कृतिक र आर्थिक विशेषताको चर्चा गर्दै वस्तुगत धरातलमा टेकेर समृद्ध प्रदेश बनाउने उद्घोष गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !