१९ पुस २०८१, शुक्रबार

निर्वाचन विरोधी प्रचण्ड-माधव समूह पनि आयोगले बोलाएको छलफलमा सहभागी


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा मिति तय गरिएको चुनावका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगमा आज भएको छलफलमा १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएका छन् ।

तर रोचक कुरा के छ भने संसद विघटन नै असंवैधानिक भएको र अहिलेको परिपेक्षमा कुनै हातलमा निर्वाचन हुन सक्दैन भनेर सडक आन्दोलन गरिरहेको निर्वाचन विरोधी प्रचण्ड-माधव समूह पनि निर्वाचन आयोगले आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न आज बोलाइएको बैठकमा सहभागी भएको छ ।

सर्वदलीय उक्त छलफलमा नेकपा ओली समूहका बाबुराम दाहाल, प्रचण्ड-माधव पक्षका राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना लगायतका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए ।

आज भएको छलफलमा नेकपा प्रचण्ड-नेपाल समूहका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताएका थिए । साथै न्याय परिषद्ले सरुवा गर्नुपर्ने आयोगका कर्मचारी सरकारले सरुवा गरेको विषय पनि उठाएका थिए ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६/१७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई आयोगको कार्यालयमा बोलाएको थियो । उक्त छलफलमा मतदाता नामावली अध्यावधिक, मतदानस्थल र मतदान केन्द्र लगायतका निर्वाचनका तयारीको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचन तय गरेतापनि यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगले भने निर्वाचन तयारी थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै आयोगले आफ्नो कामलाई तीव्रता दिएको हो । यद्यपि धेरैजसो दलहरु संसद विघटन नै असंवैधानिक भन्दै संसद पुनस्थापना हुनुपर्ने बताउँदै संघर्षमा छन् ।

एकातिर नेकपाको आधिकारिक समूह कुन हो भन्ने टुंगो नलागी रहेको परिप्रेक्षमा एक्कासी राजनीतिक दलहरुलाई आयोगले बोलाएको बैठकमा निर्वाचन विरोधी प्रचण्ड-माधव समूह पनि सहभागी हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यो पनि पढ्नुहोस्

किन एक्कासी बोलायो निर्वाचन आयोगले राजनीतिक दलहरुलाई ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु