३० कार्तिक २०८१, शुक्रबार

पार्टीभित्रकै नेताले संसद् विघटन गर्न बाध्य पारे : मुख्यमन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् विघटन गर्नुपरेको बताउनुभयो ।

प्रचण्ड–नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी भएको आरोप लगाउँदै गुरुङले मुलुक यो परिस्थितिमा ल्याउनमा दुई जनाको मुख्य भूमिका रहेको बताउनुभयो । देश, सरकार र राष्ट्रियताविरोधी क्रियाकलाप भएको भन्दै उहाँले कुर्चीमोहले नेकपा विभाजनको सङ्घारमा पुगेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैँ अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद् भङ्ग गर्ने अवस्था आएको बताउनुभयो । उहाँले मुलुकको सिमाना मिचिँदा आवाज उठाउने र गुमेको जमिन फिर्ता ल्याउने पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्नसमेत नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !