२९ कार्तिक २०८१, बिहीबार

नेकपा फेरि दुर्घटनाको संघारमा : ओलीले आफूमाथि लागेको आरोप अस्वीकार गरेको पोखरेलको भनाई


ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका तथ्यहिन, आधारहिन र पार्टी एकतामा गम्भिर आँच आउने उद्धेश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन् ।

हिजोको सचिवालयको सार भन्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’

त्यस्तै उनले त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गरेको भन्दै यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गरेको दावी पनि गरेका छन् । ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!,’ पोखरेलले कार्यकर्तालाई भनेका छन् ।

कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा अध्यक्षद्वयकै बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि कोभिड-१९ को रोकथाम र नियन्त्रयण तथा आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने समयमा राजनीतिक विवादले कस्तो रुप लेला भन्ने कूतुहलता जगाएको थियो ।

स्थिरता र समृद्धिका लागि जनमत प्राप्त नेकपाका शीर्ष नेताबीचको स्वार्थ र विवाद पटकपटक सार्वजनिक हुँदा नेता-कार्याकर्ता र जनस्तरमा निराशा, चिन्ता र आक्रोश उत्पन्न भइरहेको छ । आगामी १० दिनपछि बस्ने सचिवालय बैठकमा ओलीले आफूमाथि लगाइएका आरोपबारे लिखित जवाफ कस्तो दिन्छन् त्यसले निर्धारण गर्नेछ पार्टी फुट्ने वा बिभाजन हुने भन्ने बारेमा ।

यसवाट के प्रष्ट हुन्छ भने ओली र दाहालको सम्वन्ध बिग्रिएर पार्टी दुर्घटनाको संघारमा छ । अध्यक्ष ओलीले आफूमाथि लगाइएका आरोपबारे लिखित जवाफ दिन १० दिनको समय माग गरेपछि सचिवालय बैठकले सो कुरामा सहमति दिएको हो । पोखरेलद्वारा हिजो सार्वजनिक गरिएको धारणाले पार्टी विभाजनको पक्षमा तयार हुन नेकपाका आम नेता र कार्यकर्तालाई अपिल गरेको संकेतको रुपमा समेत हेर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !