८ बैशाख २०८१, शनिबार

सचिवालय बैठकमा महासचिव पौडेल भए आक्रोशित ल्याए आश्चर्यजनक प्रस्ताव


विष्णु पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आज बसेको सचिवालय बैठकमा आक्रोशित भई सवै सचिवालय सदस्यहरुको सामूहिक राजीनामा दिन प्रस्ताव गरेका छन् । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् ।

उनले पार्टीभित्रको बढ्दो विवादले संकटमाथि संकट निम्तिएको भन्दै समस्या समाधानमा सचिवालय असफल भएको बताएका थिए । ‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो ।’ ‘हामी सबै असफल भयौं । हामीले पार्टी र आन्दोलनलाई कहीँ पुर्‍याउँदैनौं।’

बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’ उनले प्रस्ताव उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यसैले हामी सबैले सामूहिक राजीनामा दिऔं।’

उनले नेकपाभित्रको विवादले देशनै बर्दादीतिर जाने भन्दै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । सामान्यतया नरम र समन्वयकारी भूमिकामा देखिने पौडेल आजको बैठकमा भने आक्रोशित भएका थिए ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिएको एक नेताले जानकारी दिए । ‘आरोपपत्रको व्यवस्थित जवाफ दिन्छु । त्यसका लागि १० दिनको समय चाहिन्छ । त्यो समय माग गर्छु’, ओलीले बैठकमा भने ।

ओलीकै माग अनुसार नेकपाको सचिवालय बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ । ओलीले प्रचण्डको ‘काउन्टर’ मा नयाँ प्रस्ताव समेत ल्याउने भएका छन् ।

सो बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !