४ बैशाख २०८१, मंगलबार

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा


गगन थापा

काठमाडौँ, असोज ३ । नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको बताएका छन् । सामाजिक संजालमा एउटा स्टाटस् लेख्दै उनले अब उपरान्त सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने बताएका हुन् ।

उनले यस्तो लेखेका छन्, ”स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु”! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् “सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।”

नेपालमा कोरोना संक्रमण व्यापक फैलिएपछि उपचार गर्न सम्भव नभएकोले गर्दा सरकारले हात झिकेको छ । अव उपरान्त कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा हिजो जानकारी दिएका थिए । सरकारको यो निर्णयप्रति चौतर्फी आलोचना शुरु भएको छ ।

तर सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट काटिनेछ । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते भर्ना भएका तथा परीक्षण गर्नेहरुमा लागू हुने उनले बताएका छन् । उनका अनुसार २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारेका थिए ।

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आईसीयू लगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको उनले बताए । यस्तै पछिल्लो ३ दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएकाहरु ७ दिन होम आइसोलेसनमा बस्ने सुनिश्चितता गर्नु पर्ने व्यवस्था गर्ने निर्णय भएको समेत गौतमले बताएका थिए ।

साथै मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोभिड-१९ परीक्षण गर्ने सबै प्रयोगशालाहरुले दसैंको नवमी, दशमी र एकादशीका दिनबाहेक पूर्णरुपमा सञ्‍चालन गर्ने/गराउने सरकारले निर्देशन दिएको छ । तर यी तीन दिनहरुमा सबै प्रयोगशालाहरुले परीक्षण चापअनुसार गर्न/गराउनुपर्ने पनि सरकारले भनेको छ ।

यो पनि पढ्नुहोस्

सरकारले हात झिक्यो, अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु