१२ पुस २०८१, शुक्रबार

नेताहरुको स्वार्थमा फस्यो एमाले : प्रचण्ड-नेपाल मन्त्रीको सपथ ग्रहणमा भएनन् सहभागी


प्रचण्ड, नेपाल र खनाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएनन् । कोरोना संक्रमणलाई कारण देखाएपनि पार्टीभित्र आफुहरुसँग सहमति नगरी मन्त्रीमण्डल हेरफेर गरेकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट भएकोले सपथ ग्रहण समारोहमा सहभागी भएनन् ।

यस्तै झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् । मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् । यसरी देश र जनताको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र भागबण्डामा शीर्ष नेताहरु सीमित हुँदा सत्तारुढ दल नेकपा ठुलो दलदलमा फसेको छ भने आम नागरिकहरु नेताहरुको यस्तो गतिविधिवाट वाक्कदिक्क भएका छन् ।

हिजो बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले आज बेलुकी एक विज्ञप्ति गरी गर्दै संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंले राखेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिई अमेरिकाको लागि राजदूत बनाइएको छ ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री भएका छन् । यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायत मन्त्री बसन्त कुमार नेम्वाङले सम्हाल्दै आएका थिए । साथै लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ भने महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले खोसे ईश्वर पोखरेलको मन्त्रालय, विष्णु पौडेल बने अर्थमन्त्री !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !