६ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमण नियन्त्रण बाहिर गए फेरि लकडाउन हुनसक्छ : नेपाल सरकारका प्रवक्ता


प्रदीप ज्ञवाली

काठमाडाैं, २५ असाेज । नेपाल सरकारले देशमा कोरोना संक्रमण नियन्त्रण बाहिर गए पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्नेतर्फ उनले संकेत गरे ।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए । अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए ।

चाडवाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ । लकडाउन गर्ने-नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए । यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरेका छन् ।

उनले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरे । नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भएपनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गरे ।

उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे । उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे ।

४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गरे । दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामर्थ्य बढाइरहे पनि पर्याप्त नभएको उनको भनाइ दियो ।

सरकारले भेन्टिलेटर, आईसीयूको थप प्रबन्ध गरिरहे पनि संक्रमण रोक्नका लागि नागरिकहरुको सचेतता एकदमै जरुरी उनले बताए । दसैं, तिहार र छठजस्ता चाडपर्वहरूमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे । जेष्ठ नागरिकहरूको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।

काठमाडौंमा संक्रमणको दर बढीरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले खेलेको भूमिकालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाइमा पछाडी परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिहरूले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरू काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !