७ मंसिर २०८१, शुक्रबार

३ मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी : यी हुन् सम्भावित नयाँ मन्त्रीहरु


केपी शर्मा ओली

काठमाडौं, असोज ११ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग झण्डै १ घण्टा छलफल भएको थियो । दुई अध्यक्षबीचको आज भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल केन्द्रित भएको बुझिएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले दिएको जानकारी अनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो ।

केही दिनयता दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्तिका विषयमा छलफल चलिरहेको छ । ओली-प्रचण्डबीच छलफललाई जारी राख्ने सहमति पनि भएको छ । स्रोतका अनुसार केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना बढेको छ भने दुई अध्यक्षको छलफलका आधारमा प्रधानमन्त्रीले यसवारेमा निर्णय लिनेछन् ।

स्रोतका अनुसार आज बसिरहेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिमण्डल पुनर्गठनको लागि केही मन्त्रालय समेत फुटाउने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय गरी ३ वटा मन्त्रालय फुटाउन लागिएको हो ।

भागबन्डा पुर्याउनका लागि मन्त्रालय फुटाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । हाल अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । हालका आधाजसो मन्त्रीहरु हेरफेर हुने सम्भावना छ ।

पूर्वएमालले अधिकांश नयाँ अनुहार छान्ने स्रोतको दाबी छ । बालुवाटारनिकट स्रोतले मन्त्रिपरिषद्‍मा अब ल्याउने सदस्य अधिकांश नयाँ अनुहार हुने जानकारी दिएको छ । पटक-पटक लाभ पाएकालाई भन्दा नयाँ र २/३ पटक सांसद भएर पनि मन्त्री बन्न नपाएकालाई नै प्राथमिकता दिइने भएको हो । पूर्वएमालेबाट यज्ञराज सुनुवार, विशाल भट्टराई, प्रेम आले, गणेश ठगुन्‍ना, विरोध खतिवडा आदिको नाम चर्चामा छ ।

अध्यक्षद्वय वीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएपनि अझै अन्तिम निष्कर्षमा भने पुग्न नसकेको प्रचण्डको सचिवालयले जनाएको छ । पूर्वएमाले घटकमा नयाँ अनुहारलाई प्राथमिकता दिएपनि पूर्वमाओवादीबाट भने दोहोरिने सम्भावना रहेको छ । पूर्वमाओवादीबाट देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल आदिको नाम चर्चामा छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

ओली-प्रचण्ड छलफल सकारात्मक : केहि दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने

बालुवाटारमा ओली-दाहालबीच छलफल जारी : मन्त्रिपरिषद् पुर्नगठनको मापदण्ड टुंग्याउन सक्ने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक : महत्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठन गृहकार्यको अन्तिम चरणमा : यी हुन् नयाँ मन्त्री बन्न चाहिने ३० गुणहरु

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !