८ बैशाख २०८१, शनिबार

बालुवाटारमा ओली-दाहालबीच छलफल जारी : मन्त्रिपरिषद् पुर्नगठनको मापदण्ड टुंग्याउन सक्ने


काठमाडौँ, असोज ११ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज बिहान शुरु भएको छलफल जारी रहेको छ । छलफलकाे विषयबस्तुको बारेमा स्पष्ट नबताएपनि मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड टुंग्याउने बारेमा छलफल केन्द्रित भईरहेको आंकलन गर्न सकिन्छ ।

नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझाव अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन’ संकेत गरेअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा ३ वटा विकल्प अगाडि सारेका थिए । पहिलो विकल्प अहिलेका सबै मन्त्रीलाई हटाएर नयाँ व्यक्ति लैजाने। दोस्रो, दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदाइ गर्ने, नयाँ ल्याउने। तेस्रो अहिले रिक्त रहेका मन्त्रालयमा नयाँलाई लैजाने र केहीकेहीलाई अहिले रहेकालाई झिकेर नयाँ राखेर जाने ।

पुष्पकमल दाहालले सबै मन्त्रीहरू हटाउन नहुने तर्क राखेका छन् तर नयाँ राख्दा वरिष्ठ, योग्य, क्षमतावान्, समावेशी बनाएर राख्नुपर्छ भन्ने धारणा राख्दै आएका छन् । उनले बाहिर रहेका वरिष्ठ नेताहरूलाई पनि जिम्मेवारी दिएर प्रभावकारी सरकार सञ्चालन गर्ने गरी जानु राम्रो हुने तर्क पनि राखेका छन् ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले भने सरकारको सेट नै परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाहेक अन्य सबै मन्त्रीलाई अहिले राजीनामा दिएर फिर्ता बोलाउने, नयाँ र योग्यलाई अवसर दिनुपर्ने नेपालको भनाइ छ ।

प्रधानमन्त्री र अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनकाे मापदण्डबारे छलफल यसअघिकै भेटबाट सुरु भएको जानकारी दियाे । अध्यक्ष दाहालकाे सचिवालयले भने कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने सूची तयार भइनसकेको जानकारी दियाे । तर नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा पनि अझै सहमति जुटिसकेको छैन ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक आज दिउसो १२ बजे बाेलाइएकाे छ । अध्यक्षद्वयको आज जारी छलफलले मन्त्रिपरिषद् पुर्नगठनको मापदण्ड टुंग्याउने अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक : महत्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठन गृहकार्यको अन्तिम चरणमा : यी हुन् नयाँ मन्त्री बन्न चाहिने ३० गुणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !