काठमाडौँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी दिएका छन् । उनका अनुसार अर्को बैठक असार २४ गते बुधवार बिहान ११:०० बजे बस्ने भएको छ ।
नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:०० बजे बस्ने बैठकमा पार्टीमा देखिएको विवाद समाधानको विल्कपमाथि छलफल हुने बताइएको थियो ।
सत्तारुढ दल नेकपामा देखिएको विवाद मिलाउन सोमबार दुई अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । आज छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ ।
स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।