१२ बैशाख २०८१, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन रोक्न माग


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन रोक्न माग

विराटनगर, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न आज यहाँ माग गर्नुभएको छ । नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आज विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ । नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमजोरी सच्याई पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयाङ्गम गरी पार्टी एकतामा जोड दिनुभयो ।

नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाइने अध्यक्ष पोखरेलले बताउनुभयो । पत्रकार सम्मेलनमा १४ जिल्लाका अध्यक्ष एवं सचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिसमेत पढेर सुनाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !