७ बैशाख २०८१, शुक्रबार

आफ्नो पक्षमा देशभर अभियान बढाउन मध्यरातमा प्रधानमन्त्री ओलीले दिए युवा विद्यार्थीहरुलाई निर्देशन


आफ्नो पक्षमा देशभर अभियान बढाउन मध्यरातमा प्रधानमन्त्री ओलीले दिए युवा विद्यार्थीहरुलाई निर्देशन

काठमाडौं, असार १९ । पार्टीमा आफूविरुद्ध चौतर्फी मोर्चाबन्दी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सडक अभियान बढाउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । उनले बिहीबार राति आफु निकटका पार्टी नेता तथा भातृ संगठन युवासंघ नेपाल र अखिलका अध्यक्ष लगायतका कार्यकर्ताहरुसँग बालुवाटारमा निर्देशन दिएका हुन् ।

छलफलमा सांसद महेश बस्नेतदेखि रमेशकुमार पौडेल तथा अखिलका ऐनसिंह महरसमेत सहभागी थिए । त्यसक्रममा ओलीले अहिले पार्टी तथा सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसक्रममा उनले आफ्नो पक्षमा अभियान चलाउन निर्देशन समेत दिएका थिए । त्यस्तै सामाजिक सञ्जालहरुमा समेत आफ्नो आलोचनाको प्रतिवाद गर्न आफू निकटकाहरुलाई ओलीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रचण्ड-नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक अभियान चर्काउने बाटो रोजेका हुन् । पार्टीभित्र अल्पमतमा रहेका ओलीले सरकारमाथि संकट गहिरिँदै गएपछि युवा विद्यार्थीहरुलाई आव्हान गरेका हुन् ।

केपी ओलीको मध्यरातको निर्देशनपछि युवा विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काउने तयारी थालिसकेका छन् । बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो ।

प्रधानमन्त्री ओलीले प्रदर्शनलाई काठमाडौँमा मात्र सीमित नगरी देशव्यापी बनाउन निर्देशन दिएको श्रोतले बताएको छ । स्थायी समितिमा आफूविरुद्ध मोर्चाबन्दी भए पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पछि नहट्ने अडान लिएका छन् । तर दाहाल नेपाल समूहले ओलीलाई जसरी पनि राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका छन् ।

हालै प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको र नेपालका नेताहरुले पनि उक्त षडयन्त्रमा साथ दिइरहेको बताएपछि नेकपामा विवाद चुलिएको हो ।आफूहरुलाई ओलीले भारतीय एजेन्टको आरोप लगाएको भन्दै स्थायी समिति बैठकमा नेताहरुले उनको राजीनामा मागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !