१५ असार २०८१, शनिबार

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पर्सि शनिवार २० गते बस्ने


नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । उक्त बैठकमा सहभागी एक नेताका अनुसार बैठक २ दिनका लागि स्थगित गरेर असार २० गते शनिबार बस्ने भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको उनले जानकारी दिएका छन् ।

भोलि शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर २० गते बस्ने गरी स्थगित भएको हो ।

साथै आजको बैठकमा अर्का अध्यक्ष प्रचण्डले संसद स्थगित नगर्नुस् भनेर प्रधानमन्त्री ओलीलाई भनेकोमा हुन्छ भनेर तर फेरि अचानक संसद स्थगित गरिएकोमा उनले प्रधानमन्त्रीसंग गुनासो गरेका थिए । मुखले एकातिर भनेर काम अर्कोतिर गर्नुभयो भन्दै दाहालले ओलीलाई भनेका थिए । जवाफमा ओलीले १/२ दिन अध्यादेश नल्याउँला नि संसद् स्थगित भएर के बिग्रियो भनेर जवाफ दिएका थिए ।

ओलीसँगको छलफलबारे दाहालले बैठकमा ब्रिफिङ पनि गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा केहि समयअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नेकपा स्थायी कमिटीकाे बैठक आज छैटाैं दिन भिन्न कार्यसूचिमै केन्द्रित भई संचालन भयाे र दिनभरिजसाे निरन्तर नभएको बताएका छन् । उनका अनुसार बिहानकाे बैठकमा शुरूमा केशव बडाल र अमृतकुमार बाेहराले आ-आफ्ना धारणा राखेको जानकारी दिएका छ ।

साथै उनका अनुसार मन्त्रिपरिषद्काे बैठकले आज बेलुका ५:०० बजेदेखि दुबै सदनकाे चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएकाे सन्दर्भमा नयाँ एजेण्डामा छलफल गर्न खाेजिएपनि बैठक अघि बढ्न नसकेको बताए । यसैबीचमा महासचिव विष्णुप्रसाद पाैडेल र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष भेटेर मन्त्रिपरिषद् बैठक र निर्णयबारे जिज्ञासा राखेको र प्रधानमन्त्रीले स्पष्ट पारेको बताए ।

तत्पश्चात् अर्का अध्यक्षले सचिवालय र गैरसचिवालयका नेताहरूसँग सामूहिक र छुट्टाछुट्टै भेट गरी राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेको उनले बताए । उनका अनुसार प्रचण्ड फर्केर बेलुका ४:३० बजे पुन: बसेकाे बैठकले पर्सी असार २० गते ११ बजे हुनेगरी आजकाे बैठक स्थगित गरेकाे छ । साथै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तता र जरूरी भेटहरूमा रहेकाले आजकाे बैठकमा उपस्थित नभएको जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !