७ मंसिर २०८१, शुक्रबार

पार्टी एकतालाई एकढिक्का बनाउन नेकपाका नेताहरूद्वारा अध्यक्षद्वयलाई आग्रह


नेकपा स्थायी कमिटी बैठक

काठमाडौंँ, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक एकतालाई एकढिक्का बनाउन नेताहरूले अध्यक्षद्वयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा नेताहरूले पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधान गर्न तथा पार्टीलाई अझै सुदृढ र एकताबद्ध बनाई विश्वासको सङ्कट अन्त्य गर्न सुझाव दिइएको जानकारी नेताहरूले दिए ।

स्थायी कमिटीका सदस्यहरूले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि दिएको निवेदनको विषयमा आआफ्नो धारणा राखेको पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । असार १३ गतेदेखि जारी बैठकमा नयाँ नक्सा तथा सीमा विवाद, एमसीसी, पार्टी तथा सरकारको समीक्षा लगायत कार्यसूची प्रस्तुत गरिएको थियो ।

तर, असार १४ गते प्रधानमन्त्री ओलीले मदन जयन्तीका अवसरमा सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका केही नेताको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको भनिएको नेकपा (एमाले)को सम्बन्धमा छलफलले बैठकमा प्रवेश पाएको छ ।

मङ्गलबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसहित १८ जनाले त्यस विषयमा आआफ्नो धारणा राखेका थिए । त्यही विषयमा बुधबार स्थायी कमिटी सदस्य योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका प्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले आ-आफ्नो दृष्टिकोण राखेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता भट्टराईले पार्टी एकतालाई बलियो बनाउन दुवै अध्यक्ष मिलेर जानुको विकल्प नरहेको बताए । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा बोल्ने पाँच जनामध्ये कसैले पनि प्रधानमन्त्रीको राजीनामा नमागेको बताए । उनले भने, “सबै जनाले प्रधानमन्त्री ओलीलाई निकास दिन आग्रह गरे । पार्टी र सरकारमा जे समस्या भएको हो, त्यसको जिम्मेवारी लिएर उनले समस्याको समाधान दिनुपर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष र प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरु

प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग थाले राजनीतिक परामर्श


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !